राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २९ जेष्ठ, २०८१
काठमाडौं, जेठ २९ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ सत्रमा हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल मंगलबार जेनेभा गएका हुन् ।
राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपराष्ट्रपति रामसहायप्रसाद यादव, उपप्रधानमन्त्रीहरु रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल तथा मन्त्रीहरुले बिदाई गरेका हुन् ।
राष्ट्रपति पौडेलले जेष्ठ ३१ गते उच्चस्तरीय सत्रमा आयोजना हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले जेठ ३० गते स्वीस महासंघका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
राष्ट्रपति पौडेल ५ असारमा स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जेनेभा र बर्लिन भ्रमणमा राष्ट्रपति पौडेलकी श्रीमती सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र विज्ञ डा. सुरेशचन्द्र चालिसे, राष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू सहभागी छन् ।