राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १३ जेष्ठ, २०८१
काठमाडौं, जेठ १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारीको बचल अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै तोकेर छानबिनको दायरामा ल्याउनु पर्ने कार्यदेश सहित संसदीय छानबिन समिति गठन गर्ने अडान कायमै राख्ने निर्णय गरेको छ ।
आइतबार बिहान बसेको कांग्रेस नेताहरुको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम किटान नगरी छानबिन समिति गठन हुन नसक्ने अडान कायम राख्ने निर्णय गरेको हो ।
बैठकपछि काँग्रेस सहमहामन्त्री जीवन परियारले भने, ‘गोर्खा मिडिया नेटवर्कको नाम मात्र लिएर त पुग्दैन होला । कम्तिमा त्यहाँ संलग्न व्यक्तिहरू कोको हुन् भन्नेबारेमा पनि उल्लेख नगरिकन छानबिन हुन सक्दैन भन्ने हाम्रो अडान कायमै छ ।’ तर, सत्ता पक्षका नेताहरुले संस्थाको नाम उल्लेख गरेपछि व्यक्तिको नाम उल्लेख गर्न नपर्ने अडान राखेका छन् । त्यसमा काँग्रेस सहमत छैन ।
उनले अगाडि भने, ‘उहाँहरू त एकपछि अर्को गरी कसरी हुन्छ, उम्किने बाटोतिर जाने कोसिस गर्दै हुनुहुन्छ । त्यसप्रति हामी सचेत छौँ ।’ आन्तरिक छलफलअघि सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ‘प्रचण्ड’सँग छलफल गरेका थिए । देउवालाई भेट्न ‘प्रचण्ड’ बूढानीलकण्ठ पुगेका थिए ।
सहकारीकै विषयलाई लिएर कांग्रेसले आजै काठमाडौँमा विरोध प्रदर्शन गर्दैछ ।