राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ३० श्रावण, २०८०
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका छन्।राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको । गत वर्षभन्दा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको बताइएको छ ।
बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।