राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ जेष्ठ २६, काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको संघीय संसद् सचिवालयले जनाएको छ ।
यसअघि हिजो सोमबार बसेको बैठक सुरू हुनासाथ विपक्षी दलहरुले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । १५ मिनेटपछि पनि बैठक बस्न नसकेपछि सूचना टाँस गरेर मंगलबारसम्मका लागि स्थगित गरिएको थियो ।
संसदमा प्रधानमन्त्री बालेन साहले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरुद्ध गर्दै आएको हो ।
प्रधानमन्त्रीको उक्त विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने माग राख्दै विपक्षी दलहरुले निरन्तर संसद अवरोध गर्दै आएका छन् ।