राष्ट्रिय सन्देश संबाददाता, १० घण्टा पहिले
२०८३ कार्तिक १९ काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहीबार) कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई रोमाञ्चक प्रतिस्पर्धा हुदैछ ।
पहिलो खेलमा दिउँसो १२:३० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ भने साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किंग्स आमने-सामने हुनेछन् ।
दिउँसो हुने पहिलो खेलमा अपराजित लुम्बिनी लायन्स चौथो जितको खोजीमा मैदान उत्रनेछ । लुम्बिनीले हालसम्म तीन खेल खेल्दा दुई जित र एक खेलमा अङ्क बाँड्दै पाँच अंकसहित तालिकाको शीर्ष स्थानमा कब्जा जमाएको छ ।
अर्कातर्फ, जनकपुर बोल्ट्सले चार खेल खेलिसक्दा दुई जित र दुई हारको नतििकासहित चार अंक जोडेको छ र तालिकाको चौथो स्थानमा रहेको छ । समान चार अंक भए पनि रनरेटका आधारमा कर्णाली र विराटनगर अगाडि रहेका छन् । तेस्रो जितको खोजीमा रहेको जनकपुर आज आफ्नो पाँचौं खेल खेल्दैछ । एनपीएलको इतिहासमा यी दुवै टोलीबीच यसअघि भएका भेटहरूमा हेड टु हेड नतिजा १-१ को बराबरीको स्थितिमा रहेकाले आजको खेल थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
यसैगरी, साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किंग्स भिड्नेछन् । जारी प्रतियोगितामा दुई खेल खेल्दै एक जित र एक हार निकालेको काठमाडौँ दुई अंकका साथ तालिकाको पुछारबाट दोस्रो स्थानमा छ र आजको खेल जित्नैपर्ने दबाबमा छ ।
उता, सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स चार खेलमा दुई जितसहित चार अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । विराटनगर आज आफ्नो पाँचौँ खेलमा तेस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । एनपीएलमा यसअघि भएको हेड टु हेड भेटमा विराटनगरले काठमाडौँलाई पराजित गरेको इतिहास रहेको छ ।