राष्ट्रिय सन्देश संबाददाता, १३ घण्टा पहिले
२०८३ भदौ १७ काठमाडौं ।नेपालमा आइपरेको भोटेकोशी हिमबाढीको विपत्तिको सामना गर्न जापान सरकारले पहिलो चरणको आपत्कालीन राहत सामग्री पठाएको छ। जापानका जनता तथा सरकारका तर्फबाट प्राप्त उक्त सामग्री नेपालका लागि जापानी राजदूत माएदा तोरुले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायता सामग्री व्यवस्थापन क्षेत्रमा आयोजित एक कार्यक्रमका बीच विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरे।
हस्तान्तरण गरिएका राहत सामग्रीहरूमा हिमबाढी प्रभावित समुदायका लागि आवश्यक कम्बल, प्लास्टिकका पाता (सिट), सुत्ने म्याट, पाल र बोक्न मिल्ने पानीका जार लगायतका दैनिक उपभोग्य वस्तुहरू रहेका छन्।
यसअघि मङ्गलबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र जापानका प्रधानमन्त्री सानाए ताकाइचीबीच उच्चस्तरीय टेलिफोन वार्ता भएको थियो। उक्त वार्ताका क्रममा जापानी प्रधानमन्त्री सानाएले विपत्तिको यस कठिन परिस्थितिमा जापान नेपालको साथमा रहेको र आफ्नो क्षमताले भ्याएसम्मका सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।
जापान सरकारले आज हस्तान्तरण गरिएको आपत्कालीन राहतले प्रभावित क्षेत्रका नागरिकले भोगिरहेको कठिनाइ कम गर्न मद्दत पुग्ने अपेक्षा लिएको छ। साथै, प्रभावित क्षेत्रमा पुनस्थापना तथा पुनर्निर्माणका प्रयासहरू निरन्तर अघि बढ्ने र नागरिकहरू छिट्टै सामान्य जीवनमा फर्किने विश्वाससमेत जापानले व्यक्त गरेको छ।