राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १ बैशाख, २०८३
२०८३ बैशाख ०१, काठमाडौं ।काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित र सहज बनाउन साझा यातायातले आजदेखि रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याएको छ। ढिलो समयसम्मकाम गर्ने कर्मचारी, व्यवसायी र सर्वसाधारणको सहजताका लागि राति ८ बजेदेखि ११ बजेसम्म यो सेवा सुरु गरिएको हो।
साझा यातायातले प्रारम्भिक चरणमा दुईवटा मुख्य रुटहरूमा ७ वटा अत्याधुनिक विद्युतीय बस सञ्चालन गरेको छ:पूर्व–पश्चिम रुट: एयरपोर्टदेखि नयाँ बानेश्वर, रत्नपार्क, कलङ्की हुँदै थानकोटसम्म।उत्तर–दक्षिण रुट: बुढानीलकण्ठदेखि महाराजगन्ज, रत्नपार्क हुँदै लगनखेलसम्म।
रात्रिकालीन यात्रालाई सुरक्षित बनाउन साझाले विशेष व्यवस्था गरेको छ। प्रत्येक बसमा सीसीटीभी (CCTV) जडान गरिएको छ, जसको निगरानी केन्द्रीय कार्यालयबाटै हुनेछ। साथै, यात्रुको सुरक्षाका लागि बसमा नगर प्रहरीसमेत परिचालन गरिएको छ।
यात्रुहरूले बस कहाँ आइपुग्यो भनेर जान्नका लागि ‘साझा प्लस’ (Sajha Plus) मोबाइल एप प्रयोग गर्न सक्नेछन्। यस एपमार्फत बसको वास्तविक अवस्थिति (Live Location) हेर्न सकिने सुविधा रहेको छ।
यो सेवा सञ्चालनका लागि उपत्यकाका विभिन्न स्थानीय तहहरूले साझा यातायातसँग सहकार्य गरेका छन्। साझा यातायातका अनुसार यो सेवा हाल परीक्षण र प्रारम्भिक चरणमा रहेको छ।आगामी दिनमा यात्रुहरूको चाप र मागलाई मध्यनजर गर्दै बसको सङ्ख्या र रुटहरू थप विस्तार गरिने योजना रहेको छ।
रात्रिकालीन बस सेवा सुरु भएसँगै रातिको समयमा ट्याक्सीको चर्को मूल्य तिर्नुपर्ने वा पैदल हिँड्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ।