राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
२०८३ जेष्ठ २८, काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले यही जेठ १७ गतेको प्रतिनिधि सभा बैठकमा नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित रहेको स्पष्ट पारेका छन् ।
राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री खनालले नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धको मर्म र भावनाअनुरूप ऐतिहासिक सन्धि–सम्झौता र नक्साका आधारमा कूटनीतिक वार्ताबाट सीमा समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।
उनका अनुसार सदियौँदेखि खुला सीमाका कारण कतिपय सीमा क्षेत्रमा दशगजा वरपर ‘क्रस होल्डिङ’ को अवस्था रहेको छ । आन्तरिक सहमतिअनुसार स्थानीयवासीले वारिपारी खेतीपाती गर्दै आएको अवस्थाबारे प्रधानमन्त्री शाहले उल्लेख गर्न खोजेको उनले स्पष्ट पारे ।
मन्त्री खनालले प्रधानमन्त्री शाहले सीमा सम्बन्धी जवाफका क्रममा नेपालको सिमांकन सन् १८१६ को सुगौली सन्धिसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै मित्रराष्ट्र संयुक्त अधिराज्यको सन्दर्भ पनि उठाएको स्पष्ट पारे ।