राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
२०८३ असार १७, काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत महामहिम अब्दुल्ला सइद मुबारक जारवान अल शामसीबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटका क्रममा मन्त्री यादवले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले प्रहरी चारित्रिक प्रमाणपत्र दोहोर्याएर लिनुपर्ने व्यवस्था हटाई श्रमिकलाई सहज वातावरण बनाउन युएई पक्षसँग आग्रह गरेका छन् ।
दुवै पक्षबीच नेपाल–युएई श्रम सम्झौताका प्रावधानहरूको प्रभावकारी कार्यान्वयन, वैदेशिक रोजगारीको लागत न्यूनीकरण, सीप साझेदारी तथा श्रमिकको स्वास्थ्य सुरक्षालगायतका विषयमा सहकार्यलाई थप प्रभावकारी बनाउने सहमति भएको मन्त्रालयले जनाएको छ ।
भेटमा युएईका राजदूत अल शामसीले ईद उल अजहाको अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई आममाफी प्रदान गरिएको जानकारी गराएका थिए। त्यसप्रति मन्त्री यादवले युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
राजदूत अल शामसीले द्विपक्षीय हित र सरोकारका अन्य विषयमा पनि युएई सरकारसँग आवश्यक समन्वय गरी नेपाल सरकारलाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।