शनिबार, १० आश्विन, २०८३

नेपालद्वारा अफगानिस्तान ५ विकेटले पराजित

राष्ट्रिय सन्‍देश संबाददाता, १४ घण्टा पहिले

नेपालद्वारा  अफगानिस्तान  ५ विकेटले पराजित

२०८३ असोज ०९ काठमाडौँ I २० औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको समूह ‘ए’ को खेलमा नेपालले अफगानिस्तानमाथि ५ विकेटको शानदार जित निकालेको छ । जापानको कोरोगी स्पोर्ट्स पार्कमा सम्पन्न खेलमा अफगानिस्तानले दिएको १०३ रनको विजयी लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर सहजै पूरा गर्‍यो। नेपालको जितमा सन्दीप जोराले ३४ रनको योगदान दिए भने कप्तान रोहित पौडेल ३३ रनमा अविजित रहे। यस्तै दीपेन्द्र सिंह ऐरीले १५ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन मात्र बनाउन सकेको थियो। अफगानिस्तानका लागि फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रनले समान ३०-३० रन तथा नान्गेलिया खानले अविजित १७ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका तर्फबाट कसिलो बलिङ गर्दै कुशल भुर्तेलले ४ र ललित राजवंशीले ३ विकेट लिएका थिए ।

समूह ‘ए’ मा रहेको नेपालको यो प्रतियोगितामा पहिलो खेल हो भने यसअघि पहिलो खेलमा जापानलाई ४८ रनले हराएको अफगानिस्तानको यो दोस्रो खेल हो । कूल १० टोली सहभागी यस पुरुष क्रिकेट प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका सोझै क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् भने समूह ‘बी’ मा मलेसिया, हङकङ र ओमान रहेका छन् ।

advertisement_1680627680.gif