राष्ट्रिय सन्देश संबाददाता, १० घण्टा पहिले
२०८३ असोज २८ काठमाडौँ । सेयर बजारमा लगातार चौथो कारोबार दिन पनि सुधारको क्रम जारी रहेको छ। साताको बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.३२ अंकले उकालो लाग्दै २६२१.२६ विन्दुमा पुगेर बन्द भएको छ । परिसूचकसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ४.७९ अंकले बढेको छ । यस्तै, फ्लोट इण्डेक्स १.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७१ अंकले धनात्मक रहेका छन् ।
नेप्सेमा दोहोरो अंकको सुधार देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ । मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँबराबरको सेयर किनबेच भएकोमा बुधबार भने ३५४ कम्पनीका १ करोड १६ लाख ७४ हजार कित्ता सेयर ३९ हजार १८३ पटक हस्तान्तरण हुँदा कुल ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ ।
बुधबार १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को सेयरमूल्य सर्वाधिक १३.२१ प्रतिशतले बढेको छ भने ७ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०९० को मूल्य ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। अन्य कम्पनीहरूको मूल्य वृद्धि भने ५ प्रतिशतभित्रै सीमित रह्यो । उता सगरमाथा जलविद्युत् कम्पनीका सेयरधनीले भने सर्वाधिक ६.३२ प्रतिशतको घाटा बेहोरेका छन् ।
कारोबार रकमका आधारमा कुमारी बैंक अग्रस्थानमा रहन सफल भयो, जसको २६ करोड ४६ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो । त्यसैगरी घलेम्दी हाइड्रोको साढे २१ करोड रुपैयाँभन्दा बढी र लक्ष्मी सनराइज बैंकको करिब १३ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचक हरियाली (बढोत्तरी) बनेका छन् । जसमा बैंकिङ उपसमूह सर्वाधिक १.४५ प्रतिशतले बढेको छ भने विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन् ।