राष्ट्रिय सन्देश संबाददाता, १६ घण्टा पहिले
२०८३ भदौ ०५ काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको जघन्य हत्याको घटना विरुद्ध राजधानीमा तीव्र विरोध प्रदर्शन भएको छ । घटनाका दोषीलाई कानुनको दायरामा ल्याएर हदैसम्मको कडा सजाय दिनुपर्ने मागसहित शुक्रबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो ।
‘स्वतन्त्र आमा नेपाल’ को आयोजनामा भएको उक्त प्रदर्शनमा सहभागी महिला तथा नागरिकहरूले अबोध बालिकास भएको यसप्रकारको क्रूर अपराधले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको बताएका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कुनै पनि हालतमा छुट दिन नहुने जोड दिएका छन् ।
प्रदर्शनकारीहरूले बालबालिकामाथि हुने यस्ता जघन्य हिंसाका घटना रोक्न राज्यका निकायहरू अझै संवेदनशील बन्नुपर्ने बताएका छन् । बालिका गरिमा चौधरीको हत्याले देशैभरि आक्रोश सिर्जना गरेको छ भने विभिन्न संघसंस्था तथा नागरिक समाजले यस घटनाको कडा शब्दमा भर्त्सना गर्दै न्यायको माग गरिरहेका छन् ।