मंगलवार, २६ जेष्ठ, २०८३

रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न

राष्ट्रिय सन्‍देश संबाददाता, १३ घण्टा पहिले

रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न

२०८३ जेष्ठ २५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय अधिवेशनको तयारी स्वरूप देशव्यापी रूपमा भइरहेका जिल्ला अधिवेशनहरू अन्तिम चरणतर्फ उन्मुख भएका छन् ।

हालसम्म प्राप्त आधिकारिक आन्तरिक विवरण अनुसार देशभरका कुल ५६ जिल्लामा अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेका छन् भने बाँकी जिल्लाहरूमा पनि अधिवेशन र निर्वाचनको प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ ।

विवरण अनुसार कोसी प्रदेशका कुल १४ जिल्लामध्ये १३ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। जसमा झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, पाँचथर, ओखलढुङ्गा, सुनसरी, सोलुखुम्बु, खोटाङ, इलाम र धनकुटा रहेका छन् भने उदयपुरमा अहिले निर्वाचनको प्रक्रिया चलिरहेको छ ।

यता मधेस प्रदेशका जिल्लाहरूमा भने अधिकांश स्थानमा निर्वाचनको सरगर्मी बढेको छ । मधेसका महोत्तरी, रौतहट, सिराहा, पर्सा र सर्लाही निर्वाचनको चरणमा प्रवेश गरेका छन् भने धनुषामा २६ गते तथा सप्तरी र बारामा २७ गते निर्वाचन हुने तय भएको छ ।

बागमती प्रदेशका १३ जिल्लामध्ये १२ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, मकवानपुर, काभ्रे, रसुवा, सिन्धुली, धादिङ, रामेछाप, चितवन र ललितपुरमा जिल्ला नेतृत्व चयन भइसकेको छ भने सिन्धुपाल्चोकको अधिवेशन हाललाई स्थगित गरिएको छ । गण्डकी प्रदेशतर्फ स्याङ्जा, कास्की, पर्वत, लमजुङ, म्याग्दी, तनहुँ र गोरखामा अधिवेशन सम्पन्न भइसकेको छ। नवलपुरमा निर्वाचनको प्रक्रिया जारी छ भने बागलुङमा सहमति भएको भनिए तापनि उजुरी परेका कारण केही अन्योल सिर्जना भएको छ ।

लुम्बिनी प्रदेशका सबै १२ जिल्लामा अधिवेशनको प्रक्रिया सफलतापूर्वक सम्पन्न भइसकेको छ । जसमा गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, प्युठान, बाँके, बर्दिया, रोल्पा, अर्घाखाँची र रुपन्देही रहेका छन् ।

कर्णाली प्रदेशका कालिकोट, सल्यान, रुकुम, मुगु र जुम्लामा अधिवेशन सकिएको छ भने सुर्खेत, जाजरकोट र दैलेखमा निर्वाचन प्रक्रिया अघि बढिरहेको छ । यसैगरी सुदूरपश्चिम प्रदेशका बैतडी, बझाङ, दार्चुला, अछाम, डडेलधुरा र कैलालीमा अधिवेशन सम्पन्न भइसकेको छ । डोटी र बाजुरामा भने अहिले निर्वाचनको चरण चलिरहेको छ ।

समग्र देशको अवस्थालाई हेर्दा हालसम्म ५६ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने १२ वटा जिल्लाहरू निर्वाचनको अन्तिम चरणमा रहेका छन् ।

प्राविधिक वा अन्य विविध कारणले सिन्धुपाल्चोकमा मात्र अधिवेशन स्थगित भएको छ भने डोल्पा, हुम्ला, मुगु, रुकुम पूर्व, मनाङ र मुस्ताङ गरी ६ वटा हिमाली तथा दुर्गम जिल्लाहरूमा अहिलेसम्म अधिवेशन हुन सकेको छैन । रास्वपाले यी बाँकी रहेका जिल्लाहरूमा पनि छिट्टै अधिवेशन सम्पन्न गरेर राष्ट्रिय महाधिवेशनको जग बलियो बनाउने तयारी गरेको बुझिएको छ ।

advertisement_1676551537.gif