मंगलवार, ६ आश्विन, २०८३

राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित

राष्ट्रिय सन्‍देश संबाददाता, ८ घण्टा पहिले

राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित

 २०८३ असोज ०५ काठमाडौँ I ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रतिनिधिसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

यसअघि राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित विधेयकमाथि सदनमा बृहत् छलफल भएको थियो । छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले विधेयकले बालबालिकाको अधिकार, मानसिक तथा शारीरिक अवस्था र हितलाई सर्वोपरि ध्यानमा राखेको स्पष्ट पारिन् ।

मन्त्री गौतमका अनुसार विधेयकमा विद्यार्थी अध्ययनरत विद्यालय तथा सेवा दलका शिक्षालयमा तालिम सञ्चालन गर्ने व्यवस्था गरिएको छ । तालिम पूरा गरेका विद्यार्थीहरूलाई सार्वजनिक सेवा, पूर्वाधार विकास, विपद् व्यवस्थापन, महामारी नियन्त्रण तथा पर्यावरण संरक्षणजस्ता क्षेत्रमा स्वयंसेवकका रूपमा परिचालन गर्न सकिनेछ ।

साथै, राष्ट्रिय आवश्यकताका आधारमा नेपाल सरकारले आवश्यक ठानेमा जुनसुकै नेपाली नागरिक वा संस्थालाई समेत सेवा दलले तालिम दिन सक्ने र राष्ट्र सेवामा परिचालन गर्न सक्ने व्यवस्था विधेयकमा समेटिएको छ । दूरदराज र विकट क्षेत्रका विद्यार्थीहरूलाई तालिममा प्राथमिकता दिइने प्रावधानसमेत राखिएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक यही असोज ६ गते दिउँसो १:०० बजे बस्नेछ ।

advertisement_1676551646.gif