राष्ट्रिय सन्देश संबाददाता, ७ घण्टा पहिले
२०८३ असोज ०५ काठमाडौँ I सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई भाग्ने वा अन्य व्यक्तिलाई क्षति पुर्याउने जोखिम नभएको अवस्थामा हतकडी नलगाउन प्रहरीलाई आदेश दिएको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले हतकडी प्रयोगसम्बन्धी रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । विवेक चौधरी, रोशन आउजा र विकास यादवले पक्राउ परेका व्यक्तिमाथि गैरकानुनी रूपमा हतकडी प्रयोग गरिएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चले पक्राउ पर्नेबित्तिकै सबै व्यक्तिलाई अनिवार्य रूपमा हतकडी लगाउने अभ्यास कानुनी तथा संवैधानिक व्यवस्थाको उद्देश्यअनुकूल नरहेको ठहर गरेको छ ।
अदालतले हतकडी लगाउन आवश्यक नदेखिएका व्यक्तिलाई रिटको अन्तिम टुंगो नलागेसम्म तथा त्यससम्बन्धी छुट्टै कानुनी व्यवस्था वा मापदण्ड नबनेसम्म स्वचालित रूपमा हतकडी नलगाउन प्रहरीलाई निर्देशन दिएको छ ।
तर, पक्राउ परेको व्यक्तिबाट भाग्ने प्रयास, प्रतिरोध वा अरूलाई क्षति पुर्याउने वास्तविक जोखिम देखिएमा हतकडी प्रयोग गर्न सकिने आदेशमा उल्लेख छ । त्यस्तो अवस्थामा हतकडी लगाउनुपर्ने कारण खुलाउनुका साथै त्यसको अभिलेखसमेत राख्न सर्वोच्चले भनेको छ ।
प्रहरी ऐन, २०१२ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा पक्राउ परेको व्यक्तिले भाग्न खोजेमा वा बल प्रयोग गरी प्रतिरोध गरेमा नियन्त्रणमा लिन आवश्यक बल प्रयोग गर्न सकिने व्यवस्था छ ।
सो रिटको अन्तिम टुंगो नलागेसम्म हत्कडी नलगाउन सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।