मंगलवार, २० आश्विन, २०८३

भोटेकोशी-त्रिशूली बाढीको उद्धार कार्य स्थगन गर्ने निर्णय

राष्ट्रिय सन्‍देश संबाददाता, १० घण्टा पहिले

भोटेकोशी-त्रिशूली बाढीको उद्धार कार्य स्थगन गर्ने निर्णय

२०८३ असोज १९ काठमाडौँ I सरकारले अत्यावश्यक बाहेकका अन्य अवस्थाका लागि भोटेकोशी-त्रिशूली बाढीपछिको टोली परिचालन तथा खोज र उद्धारको चरणलाई हालका लागि स्थगन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औं बैठकले अत्यावश्यक खोजलाई जारी राख्दै अब पुनर्निर्माण र पुनर्स्थापनाको कार्यलाई तीव्र रूपमा अगाडि बढाउन सम्बन्धित निकायहरूलाई स्पष्ट निर्देशन दिने निर्णय गरेको हो ।

जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकनसमेतको एकीकृत सिफारिसका आधारमा सरकारले खोज तथा उद्धारको चरण स्थगन गरी पुनर्निर्माणको चरणमा प्रवेश गर्ने उक्त निर्णय लिएको हो ।

यसैगरी, बैठकले बाढी तथा पहिरो प्रभावित क्षेत्रको समग्र पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र विषयगत निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि कुल ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रूपैयाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस पठाउने निर्णय गरेको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम स्वीकृत गरिएका यी महत्त्वपूर्ण योजनाहरूबारे अर्थ मन्त्रालयमार्फत आवश्यक स्रोत व्यवस्थापन गरिनेछ ।

यसैगरी, लागत अनुमान खुल्न बाँकी रहेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाहरूको थप विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई बैठकले निर्देशन दिएको छ ।

उक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनका कामहरू संघ, प्रदेश र स्थानीय सरकारको चुस्त समन्वयमा भइरहेको र अबका पुनर्निर्माण तथा पुनःस्थापनाका कामहरू पनि सोही समन्वयकारी ढाँचामा सम्पन्न गरिने प्रस्ट पारेका छन् ।

यस कार्यमा विपक्षी दल तथा नेपाली कांग्रेसका संसदीय दलका नेताका साथै बागमती, गण्डकी, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले सरकारलाई आफ्नो पूर्ण साथ र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैठकले भोटेकोशी-त्रिशूली बाढी तथा मनसुनजन्य विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

यसका साथै, यस्तो विषम परिस्थितिमा आफ्नो ज्यानको बाजी लगाएर खोज, उद्धार, राहत तथा पुनर्स्थापनामा निरन्तर खटिने सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक, निजी क्षेत्र, स्वयंसेवक, सञ्चारकर्मीका साथै सहयोग पुर्‍याउने सम्पूर्ण दातृराष्ट्र र विकास साझेदारहरूप्रति परिषद्ले उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

advertisement_1676553908.gif