शनिबार, १० आश्विन, २०८३

बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर वर्षा

राष्ट्रिय सन्‍देश संबाददाता, ८ घण्टा पहिले

बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर वर्षा

२०८३ असोज ०९ काठमाडौँ I बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले देशभर वर्षा भइरहेको छ ।

आज दिनभर कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही स्थानमा धेरै भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले वर्षा गराउने प्रणाली पश्चिम तर्फ सर्दै गएकाले अव कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भागमा हल्का र मध्यम सम्मको वर्षा हुनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी तथा केही स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए । 

मौसम विभागका अनुसार भोली शनिबार दिउँसोसम्म देशभर अधिकांश स्थानमा बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली भू–भागका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

वर्षा गराउने प्रणाली आगामी आइतबार सम्म सक्रिय रहने र सोमबारबाट क्रमशः सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षासँगै बागमती, गण्डकी र कर्णाली प्रदेशका केही हिमाली क्षेत्रमा आज हिमपात समेत भएको छ । 

आगामी दिनमा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हल्का र केही स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको मौसमविद् दाहालले बताए । लगातारको वर्षाका कारण काठमाडौँ उपत्यका सहित देशैभरका नदी तथा खोलानालामा जलप्रवाह बढेको छ । 

नदीहरूमा जलसतह बढिरहेको र यो अवस्था आइतबारसम्म नै कायम रहेन हुनाले आवश्यक सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

advertisement_1676551694.gif