सोमबार, २५ जेष्ठ, २०८३

सीमा विवाद कूटनीतिक माध्यमबाटै सल्टिन्छ: परराष्ट्रमन्त्री

राष्ट्रिय सन्‍देश संबाददाता, ८ घण्टा पहिले

सीमा विवाद कूटनीतिक माध्यमबाटै सल्टिन्छ: परराष्ट्रमन्त्री

२०८३ जेष्ठ २४, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आफ्नो तीनदिने औपचारिक भारत भ्रमण सम्पन्न गरी आइतबार साँझ स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लगत्तै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री खनालले यस भ्रमणले नेपाल र भारतबीचको कूटनीतिक, आर्थिक र सामाजिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरे । उनले दुई देशबीचको अन्योन्याश्रित तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन भ्रमण फलदायी र उपलब्धिमूलक रहेको विश्वास व्यक्त गरे ।

भ्रमणका क्रममा जुन ६, २०२६ मा नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग औपचारिक भेटवार्ता तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भएको थियो । उक्त उच्चस्तरीय वार्तामा नेपाल-भारत द्विपक्षीय सम्बन्धका समग्र पक्षहरूमा व्यापक र गम्भीर समीक्षा गरिएको मन्त्री खनालले जानकारी दिए ।

विशेषगरी दुई देशबीचको व्यापार तथा आर्थिक सहकार्य, सीमापार कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, खेलकुद तथा जनस्तरीय सम्बन्ध अभिवृद्धि जस्ता विषयमा ठोस र सकारात्मक छलफल भएको उनले बताए ।

वार्ताका क्रममा आपसी चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत विचार आदानप्रदान हुनुका साथै आगामी दिनमा कूटनीतिक सहकार्यलाई अझ मजबुत बनाउने साझा प्रतिबद्धता व्यक्त भएको छ ।

भ्रमणकै क्रममा मन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि छुट्टै भेटवार्ता गरेका थिए । उक्त बैठकमा नेपाल र भारतबीचको साझा सुरक्षा चासो, सीमा व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउने उपायहरू तथा दुई देशबीचको रणनीतिक साझेदारीका विभिन्न पक्षहरूमा केन्द्रित रहेर छलफल भएको थियो ।

सञ्चारकर्मीहरूले उठाएको सीमा विवाद र कालापानी-लिपुलेक क्षेत्रको विषयमा बोल्दै परराष्ट्रमन्त्री खनालले सीमासम्बन्धी समस्या समाधानका लागि स्थापित द्विपक्षीय संयन्त्रहरूले निरन्तर काम गरिरहेको प्रष्ट पारे ।

कालापानी-लिपुलेक हुँदै मानसरोवर यात्राको मार्ग भारत र चीनबीचको सहमतिमा खोलिएको विषय सार्वजनिक भएपछि नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत औपचारिक रूपमा कूटनीतिक नोट (डिप्लोम्याटिक नोट) पठाइसकेको उनले खुलासा गरे ।

उक्त नोटमार्फत नेपालले आफ्नो स्पष्ट, ऐतिहासिक र कूटनीतिक अडान राखिसकेको बताउँदै उनले सीमा सम्बन्धी सम्पूर्ण विषयहरूलाई स्थापित द्विपक्षीय संयन्त्र र वार्ताकै माध्यमबाट समाधान गर्नुपर्छ भन्ने नेपालको पुरानो अडानमा भारतीय पक्षसँग पनि कूटनीतिक ढंगले समाधान खोज्ने विषयमा सकारात्मक कुराकानी भएको जानकारी दिए । परराष्ट्रमन्त्री खनाल गत शुक्रबार भारत भ्रमणमा प्रस्थान गरेका थिए ।

advertisement_1676998982.gif