राष्ट्रिय सन्देश संबाददाता, १६ घण्टा पहिले
२०८३ कार्तिक ०१, काठमाडौँ । बडादसैं तथा नवरात्रको आठौं दिन महाअष्टमीका अवसरमा आज देशभरीका दसैंघर र पूजाकोठामा नवदुर्गामध्येकी आठौं देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
वैदिक सनातनी परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन देवी महागौरीको विशेष आराधना गर्ने गरिन्छ । सार्वजनिक बिदा सुरु भएसँगै काठमाडौं उपत्यकालगायत देशभरका प्रमुख शक्तिपीठ एवं देवी मन्दिरहरूमा बिहानैदेखि पूजाअर्चना र दर्शनका लागि भक्तजनको ठूलो भीड लागेको छ । नवरात्रभर दसैंघर तथा शक्तिपीठहरूमा दुर्गा सप्तशती (चण्डी) र श्रीमद्देवीभागवत पाठ गर्ने गरिन्छ, जसबाट शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ ।
पौराणिक मान्यतानुसार महागौरीको स्वरूप गोरो वर्ण, श्वेत वस्त्रधारण गरेकी र सेतो वृषभ (साँढे) माथि चढेकी हुन्छि न्। पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार सुरुमा देवीको रङ कालो भएकाले भगवान् शिवले ख्यालठट्टामा ‘ए काली’ भनेपछि सो शब्द मन नपरी देवीले कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकी थिइन्, जसपछि उहाँको नाम महागौरी पर्न गएको हो ।
गत असोज २५ गते घटस्थापनाका दिन जौको जमरा राखिएसँगै पहिलो दिन शैलपुत्रीको पूजा आराधना गरी नवरात्र सुरु भएको थियो । त्यसपछि क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी र सातौं दिन कालरात्रि देवीको पूजा गर्दै फूलपाती भित्र्याइएको थियो ।
आठौं दिन आज महागौरीको पूजा गरिएपछि नवौं दिन भोलि सिद्धिदात्री देवीको पूजा आराधना गरिनेछ । नौ दिनसम्म पूजा गरिएको प्रसाद विजयादशमीका दिनदेखि ग्रहण गरी कोजाग्रत पूर्णिमासम्म १५ दिनसम्म हर्षोल्लासका साथ दसैं पर्व मनाउने गरिन्छ।