शनिबार, ३० जेष्ठ, २०८३

आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ’: मन्त्री मेहता

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ’: मन्त्री मेहता

२०८३ जेष्ठ २९, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सिंहदरबार वैद्यखानाको अनुगमन गरेकी छिन् । उनले आज अनामनगरस्थित वैद्यखाना पुगेर अनुगमन तथा छलफल गरेकी हुन् ।

वैद्यखानाको सुधारको लागि मन्त्रालय सधैँ तत्पर रहेको उल्लेख गर्दै मन्त्री मेहताले मुलुकलाई आवश्यक पर्ने आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्ने बताइन् । 

वैद्यखानाको क्षमता अभिवृद्धि, औषधि उत्पादन तथा बजार प्रवर्द्धन गर्न तत्काल गर्नुपर्ने सुधारका लागि आवश्यक स्रोतसाधन, औजार उपकरण र जनशक्तिको विवरणसहित तत्काल पेस गर्न मन्त्री मेहताले सुझाव दिइन् । उनले  वैद्यखानाको समग्र सरसफाइ तथा व्यवस्थापनमा प्रभावकारिता ल्याउन निर्देशन दिइन् ।

मन्त्रालयका सचिव डा. विकास देव काटाले वैद्यखानाबाट उत्पादन हुने आयुर्वेद औषधालय गुणस्तर रहेको भन्दै अझ क्षमता बढाउनुपर्ने बताए । वैद्यखानाका कार्यकारी निर्देशक डा. प्रदीप केपीले वैद्यखानाबाट उत्पादन हुने औषधि र खाद्यपूरक पदार्थको बारेमा मन्त्री मेहतालाई जानकारी गराए । उनले  विगत पाँच वर्षदेखि घाटामा रहेको वैद्यखानालाई औषधि उत्पादन बढाएर नाफामा पुर्‍याइएको बताए ।

उनले अहिले वैद्यखानाबाट १०३ प्रकारका औषधि उत्पादन गरिरहेको भन्दै सरकारले सहयोग गरेमा उत्पादन बढाइने बताए ।

advertisement_1676998982.gif