बिहीबार, १३ कार्तिक, २०८३

चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ११ कार्तिक, २०८३

चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

२०८३ कार्तिक १० काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा चितवन राइनोजले विराटनगर किंग्ससामु जितका लागि १५८ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रनको योगफल तयार पारेको हो। चितवनका लागि विस्फोटक ब्याटिङ गर्दै डेविड मलानले सर्वाधिक ७० रनको योगदान दिए; उनले ५० बलको सामना गर्दै ५ चौका र ५ छक्का प्रहार गरे। मलानले पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको ओपनिङ साझेदारी गरेका थिए, जसमा देव १२ रन बनाएर स्टम्पिङ आउट भए भने त्यसपछि मैदान प्रवेश गरेका अर्जुन साउद मात्र ३ रनमा क्याच आउट हुन पुगे।

मध्यक्रममा कप्तान रवि बोपारा र डान मुस्लेले टोलीको इनिङ्स सम्हाल्दै चौथो विकेटका लागि ६७ रनको महत्त्वपूर्ण अविजित साझेदारी गरे। बोपारा ३२ रन र मुस्ले २९ रनमा अविजित रहँदै टोलीलाई बलियो स्थितिमा पुर्‍याउन सफल भए।

यता बलिङतर्फ विराटनगर किंग्सका एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चारिथ असालंकाले समान १-१ विकेट लिएका छन्। अब विराटनगर किंग्सले जितका लागि १५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ।

advertisement_1680627680.gif
अन्य समाचार