आईतवार, ३१ जेष्ठ, २०८३

एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड बजेट

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड बजेट

२०८३ जेष्ठ ३०, काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६७ करोड एक लाख बजेट विनियोजन गरेको छ ।

हालसालै सार्वजनिक गरेको आगामी आवको लागि वार्षिक विकास कार्यक्रमअन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आगामी आवका लागि निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ५० करोड बजेट विनियोजन गरेको छ ।

ग्वार्को सातदोबाटो एकान्त कुना फ्लाइओभरका लागि १२ करोड ६६ लाख छुट्याएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ ।  त्यसैगरी, सुरुङमार्ग विकास कार्यक्रमका लागि तीन करोड ७७ लाख ८० हजार बजेट छुट्याएको छ ।

मन्त्रालयले टोखा छहरे गुर्जु भन्ज्याङ सुरुङ मार्गका लागि ११ लाख ४८ हजार बजेट विनियोजन गरेको छ । त्यसैगरी, विभिन्न प्रस्तावित सुरुङमार्गहरुको सम्भाव्यता अध्ययनका लागि एक लाख ९० हजार बजेट छुट्याएको छ । 

 त्यसैगरी, सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङमार्ग अध्ययनका लागि पाँच लाख ६० हजार बजेट विनियोजन गरेको छ । त्यस्तै गरी, दोलालघाट चर्नावती सुरुङ मार्गका लागि १८ लाख ९० हजार विनियोजन गरेको छ । हात्तीसार बबई सुरुङ मार्गका लागि सात लाख ५६ हजार छुट्याएको छ । खुर्कोट चियाबारी सुरुङ मार्गको अध्ययनका लागि तीन लाख ९२ हजार विनियोजन गरेको छ ।

त्यसैगरी, शिवपुर भालुवङ्ग सुरुङ मार्गका लागि तीन लाख ९२ हजार रकम  छुट्याएको छ । रानीघाट भुरीगाउँ सुरुङ मार्गका लागि तीन लाख ९२ हजार बजेट छुट्याएको छ । 

advertisement_1676553908.gif