राष्ट्रिय सन्देश संबाददाता, ४ घण्टा पहिले
२०८३ जेष्ठ १०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकले उपमहासचिव योगेश भट्टराईको वरीयताक्रम सच्याएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई तीन जना उपमहासचिवहरूमध्ये तेस्रो नम्बरमा राख्ने गरी प्रस्ताव गरे पनि सचिवालय बैठकले त्यसलाई परिमार्जन गर्दै दोस्रो वरीयता दिएको हो ।
यसअघि अध्यक्ष ओलीको प्रस्तावप्रति भट्टराई निकट नेता तथा कार्यकर्ताहरूले असन्तुष्टि जनाउँदै आएका थिए । नवौँ र दसौँ राष्ट्रिय महाधिवेशनमा लगातार सचिव पदमा निर्वाचित भएका भट्टराई ११ औँ राष्ट्रिय महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका हुन् । उनको सिनियरटी (वरिष्ठता)लाई ध्यानमा राख्दै सचिवालयले यो निर्णय लिएको हो ।
एमाले उपमहासचिव लेखराज भट्टका अनुसार आइतबार सम्पन्न सचिवालय बैठकले उपमहासचिवहरूको नयाँ वरीयताक्रम टुङ्गो लगाएको छ । परिमार्जित वरीयता अनुसार अब लेखराज भट्ट पहिलो, योगेश भट्टराई दोस्रो र रघुवीर महासेठ तेस्रो नम्बरमा रहनेछन् ।
यो निर्णयसँगै पार्टीभित्र वरीयतालाई लिएर देखिएको विवाद तत्कालका लागि समाधान भएको छ ।