बिहीबार, २५ भाद्र, २०८३

ग्यास आपूर्ति सहज बनाउन असफल भएपछि आपूर्तिमन्त्री यादवद्वारा राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

ग्यास आपूर्ति सहज बनाउन असफल भएपछि आपूर्तिमन्त्री  यादवद्वारा राजीनामा

२०८३ भदौ २५ काठमाडौं ।काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य एलपी ग्यासको चरम हाहाकार र खुलेआम कालोबजारी चुलिइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।

ग्यास आपूर्ति सहज बनाउन असफल भएपछि चौतर्फी विवादमा घेरिएकी मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन शाह समक्ष आफ्नो राजीनामा बुझाएकी हुन्।काठमाडौँ, ललितपुर र भक्तपुरमा दैनिक ३५ हजारदेखि ४० हजार सिलिन्डर ग्यासको माग रहे पनि आपूर्ति व्यवस्था पूर्ण रूपमा अस्तव्यस्त बनेको छ।

नेपाल आयल निगमको तथ्याङ्क अनुसार कागजमा ८७ हजारभन्दा बढी सिलिन्डर भित्रिएको देखिए पनि उपत्यकावासी भने बिहानैदेखि रित्तो सिलिन्डर बोकेर डिपो-डिपो धाउन बाध्य छन्। निगमको अनुमान अनुसार अहिले उपत्यकाका घर तथा विभिन्न स्थानमा १२ देखि १५ लाख खाली सिलिन्डर थन्किएका छन्। उपभोक्ताले सरकारले तोकेको मूल्यभन्दा निकै बढी रकम तिर्नुपर्ने बाध्यता सिर्जना हुँदा पनि बजार अनुगमन र नियन्त्रण हुन सकेको छैन।

यसैबीच, समस्या समाधान गर्नुको सट्टा बुधबार संसदीय समितिको बैठकमा मन्त्री यादवले दिएको धम्कीपूर्ण अभिव्यक्तिले स्थिति झनै उग्र बनाएको थियो। उद्योगी र कर्मचारीको मिलेमतोका कारण ग्यास क्षेत्रमा सुधार गर्न नसकिएको आरोप मन्त्रीले लगाएपछि एलपी ग्यास उद्योगीहरू आक्रोशित बनेका थिए। 

advertisement_1676553908.gif