राष्ट्रिय सन्देश संबाददाता, १० घण्टा पहिले
२०८३ साउन ३१, काठमाडौँ । नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोबाट प्रभावित ३ सयभन्दा बढीको उद्धार गरेको छ ।
पहिरो प्रभावितको खोज तथा उद्धारका लागि भवानीदल गणबाट खटिएको नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयवासीसँगको समन्वयमा आज ३ सयभन्दा बढीलाई उद्धार गरी सुरक्षित स्थानमा पठाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाको टोलीले पहिरोमा परी घाइते भएका आठ जनाको समेत उद्धार गरेको छ ।
साथै पहिरोमा परी मृत्यु भएका चार जनाको शव निकालिएको निर्देशनालयले जनाएको छ । पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम अझै जारी रहेको नेपाली सेनाले जनाएको छ ।