सोमबार, १७ कार्तिक, २०८३

कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक

२०८३ कार्तिक १६ काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ । सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथि भइरहेको प्रहारलगायत विषयमा साझा धारणा बनाउन कांग्रेसले बैठक आह्वान गरेको हो ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा आज (सोमबार) दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्नेछ ।

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आमन्त्रण गरिएको छ ।

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेका अनुसार बैठकमा सरकारको जवाफदेहिता, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिका, पत्रकार पक्राउ तथा सञ्चारमाध्यममा प्रहरी परिचालन गरिएको विषयमा छलफल हुनेछ ।

त्यस्तै, विभिन्न घटनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, अनुसन्धानलाई निष्पक्ष बनाउनुपर्ने र सरकारका गतिविधिमाथि प्रतिपक्षी दलहरूले खेल्नुपर्ने भूमिकाबारे पनि छलफल हुने बताइएको छ ।

सरकारको कार्यशैली र प्रेस स्वतन्त्रतासम्बन्धी विषयमा प्रतिपक्षी दलहरूबीच साझा धारणा निर्माण गर्दै सरकारलाई जवाफदेही बनाउन बैठक केन्द्रित हुने कांग्रेसले जनाएको छ ।

advertisement_1676553851.gif