शनिबार, १५ कार्तिक, २०८३

कोप ३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

कोप ३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

२०८३ कार्तिक १४ काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न सरकारले तयारी अघि बढाएको छ ।

जलवायु परिवर्तनका मुद्दामा राष्ट्रिय साझा धारणा निर्माण गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी प्रतिनिधित्व गराउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सत्तारुढ दलइतरका प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक तथा प्रतिनिधिहरूसँग छलफल गरेको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहको चाहनाबमोजिम हिजो आयोजित छलफलमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह सहभागी रहेको थियो ।

बैठकमा आगामी नोभेम्बर ९ देखि २० सम्म टर्किएमा आयोजना हुने कोप–३१ मा नेपालको सहभागिता, सम्मेलनमा उठाउनुपर्ने प्राथमिकताका विषय तथा राष्ट्रिय हितका सवाललाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा छलफल भएको जनाइएको  छ।

जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालले कोप–३१ मा हिमाली क्षेत्रको संरक्षण, जलवायुजन्य विपद्, जलवायु न्याय, ऊर्जा र जलवायु वित्तका विषयलाई प्राथमिकताका साथ उठाउने सरकारको तयारी छ ।

यी विषयमा राष्ट्रिय साझा धारणा बनाएर अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको आवाज सशक्त रूपमा प्रस्तुत गर्ने सरकारको जोड रहेको छ ।

advertisement_1680627706.gif