राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
२०८३ कार्तिक १२ काठमाडौँ । नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनले यही कात्तिक १५ गते आइतबारदेखि सडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको प्रकारअनुसार फरक–फरक शुल्क निर्धारण गरिएको जनाएको छ ।
निर्धारित दरअनुसार कार, भ्यान, पिकअप र माइक्रोबसजस्ता हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
त्यस्तै, मिनी बस, मिनी टिपर तथा ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । बस तथा ठूला ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ तोकिएको छ ।
यसैगरी, मल्टी एक्सल ट्रक तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ सडक उपभोग दस्तुर तिर्नुपर्नेछ ।
सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाका आधारमा शुल्क लागू गर्न लागिएको आयोजनाले जनाएको छ ।
