राष्ट्रिय सन्देश संबाददाता, ७ घण्टा पहिले
२०८३ भदौ ०८ बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ मन्त्रीहरूसहित कार्यविभाजनको सिफारिस प्रदेश प्रमुखसमक्ष पठाएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम गठित मौजुदा मन्त्रिपरिषद्मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तीन जना नयाँ सदस्य समावेश गरी पुनर्गठन गरिएको मुख्यमन्त्री आचार्यले जानकारी दिएका छन् ।
पुनर्गठित मन्त्रिपरिषद् अनुसार नयाँ नियुक्त मन्त्रीहरूमा दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ । नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथग्रहण मंगलबार दिउँसो ३ बजे प्रदेश प्रमुखको कार्यालय, बुटवलमा आयोजना गरिएको छ ।
यसैगरी, मन्त्रिपरिषद्का अन्य सदस्यहरूतर्फ तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने गरी कार्यविभाजनको सिफारिस गरिएको छ ।