आईतवार, ११ आश्विन, २०८३

नेपाली कांग्रेसको संस्थापनइतर समूहद्वारा पनि १५ औँ महाधिवेशन प्रक्रिया सुरु

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

नेपाली कांग्रेसको संस्थापनइतर समूहद्वारा पनि  १५ औँ महाधिवेशन प्रक्रिया सुरु

२०८३ असोज १० काठमाडौँ I नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ । शनिबार चूनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यताको सम्पूर्ण विवरण केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ ।

अद्यावधिक गरिएको विवरणअनुसार महाधिवेशनका लागि कूल ७ लाख ८३ हजार ८३६ जना क्रियाशील सदस्य तय भएका छन्। जसमा ५ लाख ७३ हजार २६९ जना पुराना र २ लाख १० हजार ५६७ जना नयाँ सदस्य रहेको जानकारी सदस्यता व्यवस्थापन समितिका संयोजक किरणराज शर्मा पौडेलले बताए । उनका अनुसार आगामी १५ गते हुने वडा अधिवेशनसँगै १५ औँ महाधिवेशनको प्रक्रिया विधिवत् रूपमा सुरु हुनेछ ।

पत्रकार सम्मेलनमा संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले सबै पक्षलाई समेटेर महाधिवेशनको प्रक्रिया अगाडि बढाइएको बताए । आगामी महाधिवेशनलाई पार्टीको परीक्षाको समयका रूपमा चित्रण गर्दै डा. कोइरालाले यसले नेपाली कांग्रेसको भावी राजनीतिक बाटो र भविष्य तय गर्ने धारणा व्यक्त गरे ।

सोही अवसरमा नेता डा. प्रकाशशरण महतले एकताको महाधिवेशन सम्पन्न गर्नका लागि ढोका खुल्ला राखी संवादका अनेक प्रयास गरे पनि सहमति जुट्न नसकेको बताएका छन् । सहमतिका प्रयास सफल नभएपछि अब पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै महाधिवेशनका बाँकी प्रक्रियालाई निरन्तरता दिइने उनको भनाइ रहेको  थियो।

advertisement_1676553851.gif