बिहीबार, २० कार्तिक, २०८३

प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेटवार्ता

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेटवार्ता

२०८३ कार्तिक १९ काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी, द्विपक्षीय सहकार्य र पूर्वाधारसम्बन्धी विषयमा छलफल भएको हो ।

भेटका क्रममा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउँदै प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमण सफल बनाउन भारत सरकारले तयारी तीव्र पारेको जानकारी गराएका छन् । भ्रमणलाई उपलब्धिमूलक बनाउन भारतले आवश्यक तयारी गरिरहेको उनले बताएका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले पहिलो उद्धारकर्ताका रूपमा राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार टोली खटाएर पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्नुभएको दाहालले बताए।

प्रधानमन्त्री शाहले नेपालले विपद्को सामना गरिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत व्यक्त गर्नुभएको ऐक्यबद्धता र सहयोगको प्रतिबद्धताप्रति पनि धन्यवाद व्यक्त गर्नुभएको उनले जानकारी दिए ।

प्रधानमन्त्री शाहले नेपालको खेलकुद क्षेत्रको विकासका लागि भारतसँग गर्न सकिने सहकार्यका विषयमा समेत चासो राख्नुभएको प्रेस विज्ञ दाहालले जानकारी दिए ।

भेटका अवसरमा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तयारी तीव्र पार्नुभएको सन्देश सुनाउनुभएको थियो। उहाँले भ्रमण सफल बनाउन भारतले आवश्यक तयारी गरिरहेको जानकारी गराएका थिए ।

यसैगरी, ऊर्जा, जलस्रोत, व्यापार तथा पारवहन र उड्डयनसम्बन्धी नेपाल–भारत द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको पनि विदेश सचिव मिस्रीले बताए ।

भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारी पनि उहाँले प्रधानमन्त्री शाहलाई गराएका थिए ।

उक्त मार्गमा आजै रेलको परीक्षणसमेत गरिएको विषयमा भारतीय विदेश सचिव मिस्रीले जानकारी गराउनुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ दाहालले जानकारी दिए ।

advertisement_1680627706.gif