राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ जेष्ठ २१, काठमाडौं ।संविधान संशोधनका लागि बहसपत्र तयार गर्न प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरी महत्वपूर्ण सुझाव संकलन गरेको छ। नेपालको संविधानलाई समयसापेक्ष, व्यावहारिक र थप सुदृढ बनाउने उद्देश्यका साथ कार्यदलले पूर्वराष्ट्रपतिद्वयको निवासमै पुगेर राष्ट्रिय हित र प्रणालीगत सुधारका विषयमा केन्द्रित भई छलफल गरेको हो।
छलफलका क्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले जतिसक्दो फराकिलो राष्ट्रिय सहमति कायम गरेर मात्र बहसपत्र तयार पार्न कार्यदललाई सुझाव दिएका छन्। नेपाली जनताको ठूलो संघर्ष र बलिदानबाट जारी भएको संविधानको मूल मर्मलाई जीवन्त राख्नु आजको आवश्यकता भएको उल्लेख गर्दै उनले संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी जस्ता मुख्य स्तम्भहरूलाई अक्षुण्ण राख्दै नयाँ पुस्ताका बदलिँदा माग र भावनालाई ध्यानमा राखेर अघि बढ्नुपर्नेमा विशेष जोड दिएका छन्।
यसैगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा झण्डै दुईतिहाइ मत ल्याएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनको यो ऐतिहासिक राजनीतिक प्रक्रिया सुरु गर्नु सकारात्मक भएको भन्दै कार्यदलको कार्यशैलीको सराहना गरिन्। संविधान आफैंमा एउटा राजनीतिक सम्झौताको दस्तावेज भएकाले निर्णायक मत बोकेका दलहरूबीच आपसी र बृहत् राष्ट्रिय सहमति कायम गरी संशोधन प्रक्रिया अघि बढाउनुपर्ने उनको धारणा छ।
साथै, उनले संविधानमा सुनिश्चित गरिएको महिलाहरूको एकतिहाइ सहभागिताको उपलब्धिलाई रक्षा गर्दै यसलाई अझ बढी व्यावहारिक बनाउनुपर्नेमा समेत जोड दिएकी छन्।