राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ असार ०५, काठमाडौं । उच्च अदालत पाटनले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय ऋषिराज भण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले शुक्रबार उक्त मुद्दामा अन्तिम आदेश गर्दै दुवै प्रतिवादीलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
यसअघि विशेष अदालतले पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा भट्ट र अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सोही आदेशअनुसार उनीहरू हाल काठमाडौंको डिल्लीबजार कारागारमा रहेका छन् ।
उच्च अदालतमा विचाराधीन बैंकिङ कसुर मुद्दामा भएको पछिल्लो आदेशले उनीहरूविरुद्धको कानुनी प्रक्रिया थप बलियो रूपमा अगाडि बढ्ने संकेत गरेको छ ।
प्रहरीले दीपक भट्टलाई गत चैत १९ गते र सुलभ अग्रवाललाई चैत २२ गते पक्राउ गरेको थियो। उनीहरूमाथि बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा अनुसन्धान तथा मुद्दा प्रक्रिया अघि बढाइएको छ ।