शनिबार, ९ श्रावण, २०८३

विशेष महाधिवेशनसम्बन्धी आदेश पुनरावलोकनका लागि देउवा पक्षद्वारा सर्वोच्चमा निवेदन

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ७ श्रावण, २०८३

विशेष महाधिवेशनसम्बन्धी आदेश पुनरावलोकनका लागि देउवा पक्षद्वारा सर्वोच्चमा निवेदन

२०८३ साउन ०७, काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन विवाद फेरि सर्वोच्च अदालतमा प्रवेश गरेको छ । सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई आधिकारिक ठहर गर्दै दिएको आदेशलाई पुनरावलोकन गर्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले निवेदन दर्ता गराएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता एवं सहरोचिसार अर्जुनप्रसाद कोइरालाका अनुसार बिहीबार देउवाको वारेसमार्फत उक्त पुनरावलोकन निवेदन दर्ता गरिएको हो । यसअघि न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले गत वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएका सभापति गगनकुमार थापाको कार्यसमितिलाई मान्यता दिने आदेश सुनाएको थियो ।

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएको निर्णयलाई चुनौती दिँदै तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च गएका थिए। उनीहरूले निर्वाचन आयोग, सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाएका छन् ।

अब तीन जना न्यायाधीशहरूको इजलासले यस मुद्दामा पुनरावलोकन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिनेछ। पुनरावलोकनका लागि अनुमति पाएपछि मात्र मुद्दाको नियमित प्रक्रिया फेरि अघि बढ्नेछ । प्रवक्ता कोइरालाका अनुसार पुनरावलोकनकोस् निष्कासन वा अनुमति दिने विषयमा महिनाको दुई पटक मात्र इजलास बस्ने गरेकाले यसै मितिमा निर्णय हुन्छ भनि हाल टुंगो लागिसकेको छैन ।

advertisement_1676551537.gif