बुधबार, २७ श्रावण, २०८३

युवालाई उद्यम र समाज रूपान्तरणको अभियानसँग जोड्नुपर्छ : मुख्यमन्त्री आचार्य

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

युवालाई उद्यम र समाज रूपान्तरणको अभियानसँग जोड्नुपर्छ : मुख्यमन्त्री आचार्य

२०८३ साउन २७, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई उद्यम, उत्पादन र समाज रूपान्तरणको अभियानसँग जोड्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले युवाको ऊर्जा, क्षमता, सिर्जनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गर्न सके समृद्ध र आत्मनिर्भर समाज निर्माण गर्न सकिने बताएका हुन् ।

मुख्यमन्त्री आचार्यले युवालाई रोजगारीका खोजकर्ता मात्र नभई उद्यम र उत्पादनका नेतृत्वकर्ता बनाउने नीति प्रदेश सरकारले अघि सारेको उल्लेख गरेका छन् । नवप्रवर्तन, स्टार्टअप, कृषि तथा उद्यमशीलताका नवीनतम योजना सञ्चालन गरी युवालाई उत्पादन, रोजगारी र स्वरोजगारसँग जोड्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनले बताए ।

युवाको उद्यमशीलता प्रवर्द्धनका लागि ब्याज अनुदान  लगायतका प्रोत्साहनमूलक कार्यक्रमलाई प्रदेश सरकारले अघि बढाएको र त्यसलाई बजेटमार्फत समेत सम्बोधन गरिएको मुख्यमन्त्री आचार्यले बताए ।

‘राष्ट्र निर्माणका प्रमुख शक्ति र परिवर्तनका संवाहक युवाहरू वर्तमानका हिस्सेदार पनि हुन्,’ मुख्यमन्त्री आचार्यले सन्देशमा भनेका छन्, ‘युवाको ऊर्जा, क्षमता, सिर्जनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गर्न सके मात्रै समृद्ध, आत्मनिर्भर र समुन्नत समाज निर्माण गर्न सकिन्छ ।’

उनले समाजमा सकारात्मक परिवर्तन ल्याउन युवाको सार्थक सहभागिता अपरिहार्य रहेको बताए । युवालाई कुलत, सामाजिक विकृति र विसंगतिबाट टाढा राख्दै ज्ञान, सीप, सिर्जनशीलता, प्रविधि, खेलकुद, उद्यम तथा सामाजिक सेवाका क्षेत्रमा अघि बढाउन राज्य, परिवार र समुदायको साझा प्रयास आवश्यक रहेको उनको भनाइ छ ।

युवाको क्षमता र सम्भावनालाई देश निर्माणमा उपयोग गर्ने वातावरण निर्माण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले युवालाई अवसर, सीप र जिम्मेवारी प्रदान गर्दै नेतृत्व विकासमा प्रदेश सरकारले प्राथमिकता दिएको बताए ।

advertisement_1676551646.gif