राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
२०८३ साउन २१, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले उही २ र ३ साउनमा सञ्चालन गरेको मौका परीक्षाको नतिजा बिहीबार राति सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार साउन २ र ३ गते सञ्चालन गरिएको परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ८१.१९ प्रतिशत ले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् ।
पूरक परीक्षामा ७१ हजार ३१० विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ५८ हजार ८९७ जनाले सबै विषयमा ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार तीन जना परीक्षार्थीको भने परीक्षाफल रद्द गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षार्थीहरूले आफ्नो नतिजा बोर्डको वेबसाइट, एसएमएस सेवा तथा आईभीआर सेवामार्फत हेर्न सक्ने जनाएको छ ।