राष्ट्रिय सन्देश संबाददाता, ७ घण्टा पहिले
२०८३ भदौ ०८ सुर्खेत । कर्णाली प्रदेश सरकार विस्तारको विषयलाई लिएर सत्ताको बागडोर सम्हालेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक किचलो बढेको छ । पार्टीभित्रको विवाद पेचिलो बन्दै जाँदा मन्त्री छनोटको टुंगो लाग्न नसकेपछि मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही र प्रदेश नेतृत्वले नाम finalize गर्न केन्द्रीय नेतृत्वलाई गुहार्नुपर्ने स्थिति सिर्जना भएको छ ।
सत्ता साझेदार नेकपा एमालेले आफ्नो भागमा परेका आर्थिक मामिला तथा योजना, सामाजिक विकास र जलस्रोत तथा ऊर्जा विकास गरी तीनै वटा मन्त्रालयमा मन्त्री नियुक्त गरिसकेको छ । यद्यपि, नेकपाको भागमा परेका भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अझै मन्त्रीविहीन छन्। मन्त्रालय भागबन्डामा सहमति भए पनि मन्त्रीका आकांक्षी धेरै हुँदा सोमबारका लागि तय गरिएको शपथसमेत अन्तिम समयमा स्थगित हुन पुगेको हो ।
पार्टी एकीकरणपछिको नयाँ संरचनामा विभिन्न साविक धारहरूलाई समेट्नुपर्ने बाध्यताले विवादलाई थप जटिल बनाएको छ । त्यसमाथि साविक एकीकृत समाजवादीबाट प्रतिनिधित्व गर्ने सांसदले समेत सरकारमा आफ्नो पक्षको सम्मानजनक सहभागिता हुनुपर्ने दाबी गरेपछि प्रदेश नेतृत्वले मन्त्रीको नाम टुंग्याउन नसकी निर्णयका लागि केन्द्रको मुख ताकेको छ ।