राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ भदौ २५ काठमाडौं ।नेपाल एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा सम्पन्न सेमिफाइनल खेलमा ओमानलाई ८७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १४७ रनको योगफल तयार पारेको थियो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ५१ रनको अर्धशतकीय पारी खेले भने बसिर अहमदले ४७ रनको महत्त्वपूर्ण योगदान दिए। अन्य ब्याट्सम्यानहरूमा देव खनालले १३ र आसिफ शेखले ११ रन बनाउनु बाहेक अन्य कसैले पनि दोहोरो अङ्क छुन सकेनन्। बलिङतर्फ ओमानका जय विरम ओडेडारा र हस्नइन शाहले तीन-तीन, मुहम्मद इमरानले दुई तथा मुजीबुर अलि र शकिल अहमदले एक-एक विकेट लिएका थिए।
नेपालले प्रस्तुत गरेको १४८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान नेपाली बलरहरूको उत्कृष्ट प्रदर्शनसामु २८.१ ओभरमा मात्र ६० रनमै अलआउट हुन पुग्यो। ओमानका लागि जतिन्दर सिंहले २५ र जितेन रमानन्दीले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानहरू सस्तैमा समेटिए। ओमानलाई सस्तैमा रोक्न नेपालका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले तीन-तीन विकेट लिए भने ललित राजवंशी र कप्तान रोहित पौडेलले दुई-दुई विकेट हात पारे। यो जितसँगै नेपालले आगामी शनिबार हुने फाइनल खेलमा युएईको सामना गर्नेछ, जसले अर्को सेमिफाइनलमा हङकङलाई पराजित गर्दै फाइनलको यात्रा तय गरिसकेको छ। यस प्रतियोगिताको विजेता टोलीले सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एसिया कपमा आफ्नो स्थान सुरक्षित गर्नेछ।