राष्ट्रिय सन्देश संबाददाता, ६ घण्टा पहिले
२०८३ असोज ०७ काठमाडौँ I नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भूराजनीतिक योजना र आन्तरिक घेराबन्दीमार्फत षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।
जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै सचिव बस्नेतले अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको समर्थन गर्दै त्यसलाई सुझावसहित पारित गर्नुपर्ने बताए । उनले कठिन राजनीतिक परिस्थितिमा पनि अध्यक्ष ओलीले राष्ट्रिय स्वाधीनता, संविधानको रक्षा र विकास-समृद्धिको एजेन्डा अघि बढाएको दाबी गरे ।
“अध्यक्षमाथि भूराजनीतिक योजनामा जेन्जी आन्दोलनको आडमा भौतिक आक्रमण गरी ज्यान लिने प्रयास गरियो,” बस्नेतले भने, “अहिलेको बालेन सरकार गठन भएको २४ दिन नबित्दै भदौ २३ र २४ को घटनाको दमनको आरोपमा अध्यक्षलाई गिरफ्तार गरी फौजदारी अभियोगमा जेल हाल्ने षड्यन्त्र भइरहेको छ ।”
गत फागुनको निर्वाचनमा राज्यको स्रोत-साधनको दुरुपयोग र भूराजनीतिक सेटिङका कारण पार्टीले अप्रत्याशित हार व्यहोरेको उल्लेख गर्दै उनले त्यसयता ११ औँ महाधिवेशनको जनादेशलाई अपमान गर्दै अध्यक्ष हटाउने प्रयास भएको बताए । पार्टी पुनर्गठन भनेको संगठन सुदृढीकरण, कार्यशैली सुधार र जनसम्बन्ध विस्तार (रिफर्म) भएको स्पष्ट पार्दै उनले यसलाई अध्यक्ष हटाउने पूर्वनिर्धारित उद्देश्यसँग जोड्नु गलत भएको टिप्पणी गरे ।
सचिव बस्नेतले पार्टीका आन्तरिक असहमति र विवादलाई सामाजिक सञ्जाल तथा मिडियामा लगेर नेताहरूको चरित्रहत्या गर्ने प्रवृत्तिविरुद्ध कडा आचारसंहिता बनाएर कारबाही गर्नुपर्ने माग गरे ।
“पार्टी र नेतृत्वको रक्षा गर्नु पाप र खुइल्याउनु क्रान्ति हो भन्ने गलत धारणा बनाउन खोजिँदैछ,” उनले भने, “विवाद र मतभेदलाई विधिसम्मत संवादबाट समाधान गर्नु नै जनवादी केन्द्रीयता र जबजको मूल भावना हो । महाधिवेशन मात्रै रणनीति र कार्यनीतिमा बहस गर्ने थलो भएकाले केन्द्रीय कमिटीमा विधानविपरीत फरक दस्तावेज ल्याउन पाइँदैन।”
वर्तमान सरकारको चर्को आलोचना गर्दै बस्नेतले बालेन सरकारको मनपरी शासन, असहिष्णु कार्यशैली, महँगी, भ्रष्टाचार र विपद् व्यवस्थापनको लापरवाहीविरुद्ध एमालेले सशक्त जनआन्दोलनको नेतृत्व गर्नुपर्ने बताए ।
अदालतमा विचाराधीन पुरानो संसद् पुनःस्थापनामार्फत प्रतिगामी कदम सच्याएर एमालेको हैसियत जोगाउन सकिने उनको तर्क थियो । आगामी स्थानीय तथा प्रदेश सभा निर्वाचनका लागि विचार मिल्ने वामपन्थी दलहरूसँग सहकार्य गर्दै गुमेको जनमत फिर्ता ल्याउनुपर्नेमा उनले जोड दिए ।
साथै, भोटेकोशी विपत्तिमा उद्धार र राहतमा खटिएका कार्यकर्ताहरूलाई धन्यवाद दिँदै उनले घोषित १ करोड २० लाख रुपैयाँ पार्टी कोषमा जम्मा गर्ने र ५०० वटा अस्थायी टहरा निर्माण गर्ने प्रतिबद्धता पूरा गर्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गरे ।