बिहीबार, १५ आश्विन, २०८३

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

२०८३ असोज १५ काठमाडौँ I संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज बस्दैछ ।

बिहान ११:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नेछन् ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’, ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फछ्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, अपराह्न १:१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिनेछिन् ।

बैठकमा प्रधानमन्त्री शाहका तर्फबाट आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस हुनेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरीले समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गर्नेछिन् ।

संसद् बैठकका अतिरिक्त आजै कृषि तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठकसमेत बस्ने कार्यक्रम रहेको छ ।

advertisement_1676551537.gif