सोमबार, १ असार, २०८३

एमाले संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक सम्पन्न, व्यापक सुझाव सङ्कलन र दलहरूसँग संवाद गर्ने निर्णय

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

एमाले संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक सम्पन्न, व्यापक सुझाव सङ्कलन र दलहरूसँग संवाद गर्ने निर्णय

२०८३ जेष्ठ ३१, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) द्वारा गठित ‘संविधान संशोधन सुझाव कार्यदल’ को पहिलो बैठक संयोजक एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ ।

देशको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र विद्यमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउन राजनीतिक तथा सामाजिक जीवनका विभिन्न क्षेत्रबाट सुझाव सङ्कलन गरी संविधान संशोधनसम्बन्धी प्रस्ताव तयार गर्ने निर्णय बैठकले गरेको छ ।

यसैगरी, संविधान संशोधनका विषयमा अन्य राजनीतिक दल तथा दलहरूले गठन गरेका कार्यदलहरूसँग संवाद, छलफल र अन्तरक्रिया गर्न पहल गर्ने निर्णय गर्दै बैठकले कार्यदलको सदस्य सचिवको जिम्मेवारी महेशकुमार बर्तौलालाई प्रदान गरेको छ ।

यसअघि गत जेठ ४, ८, ९ र १० गते बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले गठन गरेको यस कार्यदलमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकराम भट्टराई, पासाङ शेर्पा, अमर थापा र राजेन्द्र घिमिरे सदस्य रहेका छन् ।

advertisement_1676551694.gif