राष्ट्रिय सन्देश संबाददाता, १७ घण्टा पहिले
२०८३ असार ०६, काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ अन्तर्गत अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न रोमान्चक खेलमा घरेलु टोली अमेरिकाले अष्ट्रेलियालाई २-० गोलअन्तरले स्तब्ध पार्दै प्रतियोगिताको नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो सानदार जित हो । यसअघि आफ्नो उद्घाटन खेलमा पाराग्वेलाई पाखा लगाएको अमेरिकाले यो जितसँगै समूह ‘डी’ मा लगातार ६ अंक जोड्दै तालिकाको शीर्ष स्थान बलियो बनाएको छ।
प्रतिस्पर्धात्मक खेलको सुरुवाती ११औँ मिनेटमै अमेरिकाले अप्रत्यासित अग्रता लिने अवसर पायो । अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसले बल क्लियर गर्ने प्रयास गर्दा दुर्भाग्यवश आत्मघाती गोल हुन पुग्यो, जसले अमेरिकालाई सुरुवाती राहत दिलायो । पहिलो गोलको दबाब झेलिरहेको अष्ट्रेलियाविरुद्ध आक्रामक खेल जारी राख्दै अमेरिकाका एलेक्स फ्रीम्यानले खेलको ४३औँ मिनेटमा उत्कृष्ट गोल गरे ।
एलेक्सको उक्त गोलसँगै पहिलो हाफमै २-० को आरामदायी अग्रता बनाएको अमेरिका विरुद्ध दोस्रो हाफमा अष्ट्रेलियाले खेलमा फर्कन निकै प्रयास गरे पनि सफल हुन सकेन ।