शुक्रबार, १९ असार, २०८३

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीले तिरायो ५०० जरिबाना

राष्ट्रिय सन्‍देश संबाददाता, १० घण्टा पहिले

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीले तिरायो ५०० जरिबाना

२०८३ असार १८, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सरकारी निवास परिसरभित्रै हेलमेट नलगाई बुलेट मोटरसाइकल चलाएको कसुरमा ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नै टिकटक खाताबाट शाहले हेलमेटबिना मोटरसाइकल चलाइरहेको भिडियो सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा त्यसको चौतर्फी आलोचना सुरु भएको थियो ।

विशेषगरी, केही समययता दिनभर वैशाखीको सहारामा हिँडिरहेका मुख्यमन्त्रीले साँझको समयमा हेलमेटबिना गह्रौँ बुलेट बाइक चलाएको दृश्य बाहिरिएपछि जनस्तरबाट चर्को टिकाटिप्पणी र कानुनी कारबाहीको माग उठेको थियो ।

भिडियो भाइरल बनेर सर्वत्र आलोचना हुन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशम आचार्यसहितको प्रहरी टोली मुख्यमन्त्री शाहकै सरकारी निवासमा पुगेर कारबाही स्वरूप ५ सय रुपैयाँ जरिबानाको चिट काटेको हो ।

ट्राफिक प्रहरीले शाहलाई थमाएको चिटमा ‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुर स्पष्ट रूपमा उल्लेख गरिएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार मोटरसाइकल चालकले अनिवार्य रूपमा हेलमेट लगाउनुपर्ने व्यवस्था छ ।

 

advertisement_1680627680.gif