बिहीबार, २१ श्रावण, २०८३

आज छ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची

राष्ट्रिय सन्‍देश संबाददाता, २२ घण्टा पहिले

आज छ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची

२०८३ साउन २०, काठमाडौँ । संघीय संसदअन्तर्गत आज विभिन्न छ वटा संसदीय समितिको बैठक बस्दै छ ।

बुधबार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।

सोही समय (बिहान १० बजे) बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापनका विविध विषयमा छलफल गरिनेछ ।

यस्तै, बिहान ९:३० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, विद्यमान समस्या र तिनको समाधानबारे छलफल हुनेछ ।

बिहान ९:३० बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा युनेस्को र पुरातत्त्व विभागसँग विश्व सम्पदा सूचीमा सूचीकृत हुन सक्ने नेपालका सम्भावित सम्पदाहरूबारे छलफल गर्ने कार्यसूची तय गरिएको छ ।

यसैगरी, कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिमा परेका विभिन्न उजुरीहरूका सम्बन्धमा आन्तरिक छलफल हुनेछ ।

बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण, मूल्य नियन्त्रण, गुणस्तर कायम, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण र प्रवर्धनका विषयमा गहन छलफल हुने जनाइएको छ ।

advertisement_1676551646.gif