राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ असोज २५ काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै दुईवटा पुलसमेत बगाएको घटनामा दुःख व्यक्त गरेका छन् ।
सभापति थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत दुःख व्यक्त गर्दै बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
बाढीले न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुल बगाएको उल्लेख गर्दै उनले नदी किनारमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनले जारी गर्ने निर्देशनको पालना गर्नसमेत अनुरोध समेत गरेका छन् ।
विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न सभापति थापाले काँग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिल गरे ।