राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १२ चैत्र, २०८१
१३ चैत्र २०८१, काठमाडौँ । भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने भएको छ । यो विषयमा सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्षको बैठक बसेको थियो । उक्त बैठकमा भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने सहमति भएको एक नेताले जानकारी दिए ।
यसअघि सरकारले भूमिसहित ६ वटा अध्यादेश ल्याएकोमा पाँच अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा संसद्ले स्वीकृत गरेर छलफलका क्रममा छन् । तर भूमिसम्बन्धी अध्यादेशमा जसपा नेपालले फिर्ता लिनुपर्ने माग सारेपछि अघि बढेको थिएन ।
जसपाका उपाध्यक्ष राजकिशोर यादवले भने, ‘भूमिसम्बन्धी अध्यादेशमा हाम्रो अब्जेक्सन कायम छ । त्यही भएर आजको बैठकमा यो अध्यादेशलाई आफै निष्क्रिय हुन दिने र नियमित विधेयकका रूपमा ल्याउने सहमति बनेको छ ।’
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगाएतका सत्तारुढ दलका नेताहरुको उपस्थीति रहेको थियो ।