सोमबार, १९ आश्विन, २०८३

गगन थापाले काँग्रेसमा निरन्तरताको क्रमभङ्ग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : संयोजक दाहाल

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

गगन थापाले काँग्रेसमा निरन्तरताको क्रमभङ्ग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : संयोजक दाहाल

२०८३ असोज १८ काठमाडौँ I नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निरन्तरताको क्रमभंग गरेर नयाँ इतिहासतर्फ अघि बढाएको बताएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले गगन थापालाई बधाई दिँदै उनको नेतृत्व गर्ने क्षमता आफूले यसअघि नै देखेको बताए । उनले आफूले प्रधानमन्त्री हुँदा थापा स्वास्थ्यमन्त्री रहेको स्मरण गर्दै थापाको राजनीतिक यात्राप्रति आफू खुसी रहेको बताए ।

‘गगनजीलाई बधाई छ । गगनजीमा नेतृत्व गर्ने क्षमता छ । अन्ततः यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ। आज त्यही देखिरहेको छु,’ प्रचण्डले भने ।

विषम राजनीतिक परिस्थितिका बीच थापा कांग्रेसको नेतृत्वमा आउनु आफैंमा ‘क्रमभंग’ भएको उनको भनाइ छ । ‘यो क्रमभंग हो । निरन्तरतामा क्रमभंग गरेर तपाईं पार्टीको नेतृत्वमा आउनुभएको छ,’ उनले भने ।

उहाँले मुलुकमा गणतन्त्र र लोकतन्त्र समेत जोखिममा पर्न सक्ने अवस्था रहेको भन्दै राजनीतिक दलहरू सचेत हुनुपर्ने बताए ।लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रमुख राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

शान्ति सम्झौताका केही काम अझै पूरा हुन बाँकी रहेको उल्लेख गर्दै संयोजक दाहालले ती काम समयमै टुङ्ग्याउनुपर्ने बताए । शान्ति प्रक्रियाका बाँकी विषय समाधान हुन नसके मुलुक फेरि द्वन्द्वतर्फ जान सक्ने जोखिम रहेको उनको भनाइ थियो । “शान्ति सम्झौताका केही चिज अझै टुङ्ग्याउन बाँकी छ । यो टुङ्गिएन भने देश फेरि अर्को द्वन्द्वमा जान सक्छ । यो पनि गगन थापाले पूरा गर्नुपर्ने छ”, उनले भने ।

मुलुकको समृद्धि र विकासका लागि सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने बताउँदै संयोजक दाहालले नयाँ नेतृत्वले देशलाई समृद्धिको दिशामा अघि बढाउने विश्वास व्यक्त गरे । 

advertisement_1676551646.gif