राष्ट्रिय सन्देश संबाददाता, १४ घण्टा पहिले
२०८३ भदौ ११ काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नुवाकोट, रसुवा र धादिङलगायतका बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार, उपचार र राहत कार्यका लागि राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन गरिएको बताएका छन् । बिहीबार नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएपश्चात् प्रधानमन्त्री शाहले प्रभावित नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी र घाइतेको निःशुल्क उपचार नै सरकारको पहिलो प्राथमिकता भएको स्पष्ट पारेका हुन् ।
स्थलगत अवलोकनका क्रममा प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी र उद्धारकर्ताहरूसँग प्रत्यक्ष जानकारी लिएका प्रधानमन्त्री शाहले अवस्था अझै चुनौतीपूर्ण रहेको बताएका छन्। उद्धार र खोजी कार्यलाई तीव्र बनाउन नेपाली सेनाका ४२ सय, नेपाल प्रहरीका ७ हजार २ सय ५० र सशस्त्र प्रहरी बलका १८ सय ४५ गरी कुल १३ हजार २ सय ९५ सुरक्षाकर्मी खटाइएको छ ।
हवाई र स्थलमार्गबाट उद्धार जारी राखिएको बताउँदै उनले ६९ हवाई उडानमार्फत ५७३ जनाको उद्धार गरिसकिएको र निजी हेलिकप्टरलाई समेत सरकारी कमाण्डमा परिचालन गरिएको बताए ।
प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तात्कालिक राहतका लागि सरकारले रसुवा र नुवाकोटमा १/१ करोड तथा धादिङमा ५० लाख रुपैयाँ परिचालन गरेको छ । ३५ सयभन्दा बढी प्रभावितहरूलाई स्थानीय विद्यालय तथा सार्वजनिक भवनमा अस्थायी आवासको व्यवस्था मिलाइएको उनको भनाइ छ ।
रेडक्रस र स्काउट जस्ता स्वयंसेवी संस्थासँगको समन्वयमा ३० हजार जनालाई पुग्ने राहत सामग्री प्रभावित क्षेत्रमा पठाइसकिएको छ भने इन्धन अभाव हुन नदिन थप पेट्रोल, डिजल र हवाई इन्धन प्रभावित जिल्लाहरूमा पठाइएको छ ।
प्रधानमन्त्री शाहले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल र पाटन अस्पताललगायतका स्वास्थ्य संस्थालाई आपत्कालीन शय्या तयार गरी ‘स्ट्यान्डबाइ’ राखिएको बताएका छन् । प्रभावित क्षेत्रमा फिल्ड अस्पतालसहित प्राविधिक मेडिकल टोली र आवश्यक औषधि पठाइएको उनले बताएका छन् ।
यसैगरी, बाढीपहिरोका कारण अवरुद्ध भएका ७० भन्दा बढी दूरसञ्चार टावरहरू मर्मत गरी सेवा पुनःस्थापना गर्ने कार्य जारी रहेको प्रधानमन्त्री शाहको भनाइ छ । प्रभावित नागरिकका लागि नेपाल टेलिकम र एनसेलबाट निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा उपलब्ध गराइएको छ । अवरुद्ध सडक, पुल, विद्युत् र खानेपानी पूर्वाधारको शीघ्र पुनःसञ्चालनका लागि सम्बन्धित मन्त्रालय तथा विभागहरूलाई निर्देशन दिइएको छ ।
प्रधानमन्त्री शाहले भारत, अमेरिका, ईयूलगायतका अन्तर्राष्ट्रिय साझेदारहरूसँग पनि विपद्पछिको पुनःस्थापनाका लागि समन्वय भइरहेको जानकारी दिएका छन् । भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै उनले उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सम्पूर्ण संयन्त्र मैदानमै रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।