राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १० माघ, २०८१
१० माघ, काठमाडौं । सर्वोच्च अदालतले विशेष अदालतबाट भ्रष्टाचारको मुद्दामा मतियार ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने आदेश गरेको छ ।
सर्वोच्च अदालतको पूर्ण इजलासले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्ने आफ्नो फैसलालाई पुनरावलोकन गर्ने आदेश गरेको हो ।
सांसद गुरुङको निलम्बन फुकुवाप्रति असहमति जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावलोकनको अनुमति माग्दै निवेदन दर्ता गरेको थियो । विहीबार सर्वोच्च अदालतले सांसद गुरुङमाथिको निलम्बन फुकुवामाथि पुनरावलोकन गर्न अनुमति दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सपनामल्ल प्रधान, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले गत चैतको फैसलामाथि पुनरावलोकन गर्न अनुमति दिएको हो ।
संसद् सचिवालयले मनाङबाट निर्वाचित सांसद गुरुङलाई १२ पुस २०७९ मा निलम्बन गरेको थियो । त्यसविरुद्ध गुरुङ सर्वोच्च गएका थिए ।