राष्ट्रिय सन्देश संबाददाता, ५४ मिनेट पहिले
२०८३ असोज २४ काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले केही समयदेखि पार्टीप्रति असन्तुष्ट बनेर बाहिरिएका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई पुनः पार्टीमै फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट भारी मतका साथ सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित धन्यवाद तथा सम्बोधन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा थापा ६,५८४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका थिए ।
सम्बोधनका क्रममा नवनिर्वाचित सभापति थापाले भने, “जो साथीहरू नेपाली कांग्रेस पार्टीमा हुनुहुन्थ्यो, मैले भनेको पार्टीका नेताहरू मात्रै होइन, त्योभन्दा बढी पार्टीका शुभचिन्तक र समर्थकतगायत ती लाखौँ मानिसहरू जसले वर्षौंसम्म कांग्रेसलाई माया गर्नुभयो, तर केही वर्ष अगाडिदेखि हाम्रा कामहरू चित्त नबुझाएर हामीलाई छाडेर जानुभएको छ- ती सबै साथीहरूलाई हामी कांग्रेसमै फर्काउँछौँ।” उनले असन्तुष्ट बनेका सबैलाई फेरि कांग्रेसको घरमै फर्कौँ फर्कौँ लाग्ने वातावरण बनाएरै छाड्ने दृढतासमेत व्यक्त ग रे।
नागरिकको गुमेको विश्वास पुनः जित्ने गरी पार्टीलाई आमूल रूपान्तरण गर्ने घोषणा गर्दै थापाले आफूले प्राप्त गरेको सभापति पदलाई अधिकार नभई ठूलो जिम्मेवारी र जवाफदेहिताका रूपमा लिएको बताए । “तपाईँहरूले विश्वास गरेर पार्टीको यो ठूलो जिम्मेवारी सुम्पिनुभएको छ। म यो विश्वासप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यो पार्टीभित्र परिवर्तनका लागि गरिएको विश्वास हो, त्यसैले यसलाई अधिकार सम्झिने गल्ती गर्दिनँ, पूर्ण रूपमा जिम्मेवारी मान्नेछु,” उनले भने ।
केवल नेतृत्व परिवर्तन हुँदैमा वा नयाँ अनुहार आउँदैमा मात्रै पार्टीको वास्तविक रुपान्तरण नहुने उल्लेख गर्दै उनले अब कांग्रेसको काम गर्ने शैली, सोच र संस्कृतिमै परिवर्तन ल्याउनुपर्ने बताए । सभापति पदमा आफूसँग प्रतिस्पर्धा गरेका नेता श्यामकृष्ण खड्गीलाई धन्यवाद दिँदै थापाले लोकतान्त्रिक अभ्यासले नै पार्टीलाई जीवन्त राख्ने बताए। उनले खड्गीसहित प्रतिस्पर्धामा रहेका सम्पूर्ण पक्ष र नेता-कार्यकर्तालाई समेटेर एकीकृत रूपमा अगाडि बढ्ने स्पष्ट पारे।
वर्तमान समयमा नागरिक र कांग्रेसबीचको विश्वासको कडी कमजोर बनेको स्वीकार गर्दै उनले त्यसलाई पुनःस्थापित गर्न सम्पूर्ण तहका नेता तथा कार्यकर्ताहरू एकै ठाउँमा उभिनुपर्नेमा जोड दिए । देशका किसान, उद्योगी, व्यवसायीदेखि वैदेशिक रोजगारीमा रहेका युवाहरूसम्मले भरोसा गर्न सक्ने नयाँ र आधुनिक कांग्रेस बनाउने आफ्नो संकल्प रहेको उनले बताए ।